घाँटीमा सुनको दाम्लो र औँलापिच्छे औंठी लगाउनेलाई पार्टीमा बहिस्कार गरौंः लेखनाथ
असोज २८ काठमाडौं- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले घाँटीमा सुनको दाम्लो र औँलापिच्छे औंठी लगाउनेलाई पार्टीमा बहिस्कार गर्नुपर्ने बताएका छन् ।
आज शनिवार सामाजिक सञ्जालमा उनले पार्टीभित्र गनाएका, समर्थक जनताले गम्भीर प्रश्न उठाएका र समाजले अौंला उठाएकालाई आन्तरिक प्रशिक्षण र सार्वजनिक सभामा ठालु बनाएर उभ्याउने काम नगर्न सुझाव समेत दिएका छन् । त्यस्ता पात्रहरुले आन्दोलनलाई बदनाम बनाउनुका साथै पार्टीलाई अलोकप्रिय र चुनावमा जनमत घटाउने काम गरिरहेको उनको भनाइ छ ।
उनले भने, ‘कम्युनिस्ट पार्टीको नेता बनेर घाँटीमा सुनको साङ्लो लगाउने, अौंलैपिच्छे अौंठी लगाएर त्यही हातले माइक समात्ने र सुन प्रदर्शन गर्ने अनि श्रमिकहरुको मुक्तिको गफ दिनेहरुका कारण लोक हाँसेको छ, कार्यकर्ता निराश भएका छन् र जनमत बिग्रेको छ ।’
यस्ता पात्रहरुलाई मञ्चमा नराख्न र अतिथि–वक्ता बनाउन नहुने उनको तर्क छ । उनले थपे, ‘आन्दोलनले दिएको अख्तियारी (सार्वजनिक जिम्मेवारी) को दुरुपयोग गरेर सम्पत्ति थोपर्ने, अवसरहरु आफू र आफ्नालाई मात्र आवश्यक ठान्नेहरुलाई प्रशिक्षक बनाउने काम कुनै कमिटीले नगरौं । तपाईहरुले त्यस्ता पात्रलाई बोक्नुभयो भने तपाईलाई मतदाता–जनतासँग दैनिक सहकार्य गर्न निकै गाह्रो हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्