६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

कांग्रेसको हातबाट यसरी फुत्कियो मुखैमा आएको सत्ता

नेपाली कांग्रेसले मुखैमा आएको सत्ता गुमाएको छ। केन्द्रदेखि सातै प्रदेशमा अब कांग्रेसले सरकार बनाउन सक्दैन।

कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति गरे पनि पहिलो कार्यकाल छाड्न नमान्दा सत्ता फुत्किएको छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बनाउँदैछन्।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्‍याएर सरकार बनाउन १३८ सांसद भए पुग्छ। प्रचण्डले १६९ हाराहारी सांसदको समर्थन जुटाइसकेका छन्।

८९ सांसद रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ। नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि प्रतिपक्षमा बस्ने सम्भावना छ।

कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफैँले राख्न खोज्दा उसले सरकारको नेतृत्व गर्ने अवसर गुमाएको हो। आइतबार बालुवाटारमा भएको निर्णायक बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री छाड्न नसकिने बताएपछि प्रचण्ड त्यहाँबाट निस्किएका थिए। प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे, त्यहाँ अन्य दलहरूको समेत समर्थन प्रचण्डलाई नयाँ प्रधानमन्त्री बनाउनेमा जुट्यो।

देउवा पुन: प्रधानमन्त्री हुन खोज्दा सत्ता गुमेको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखा परेको छ। नेता रामचन्द्र पौडेलले गठबन्धन जोगाउन सभापति देउवा नै इमान्दार नभएको र प्रचण्डलाई धोका दिँदा यो अवस्था सिर्जना भएको प्रतिक्रिया दिएका छन्। ‘प्रचण्डले धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो,’ पौडेलले भने।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले गठबन्धन जोगाउन नसकेर नेतृत्वबाट भयंकर गल्ती भएको बताए। ‘गठबन्धन जोगाउन जरूरी थियो, देशभरका आधा साथीहरूको भाग खोसेर अरू दललाई उम्मेदवार बन्न दिइएको थियो। माओवादीले सहमति पालना गर्दैनन् भन्ने त थाहा थियो नै तैपनि कांग्रेसले गठबन्धन जोगाउन अधिकतम प्रयास गर्नुपर्थ्यो,’ महरले भने।

उनले निर्वाचन सकिएपछि केन्द्रीय समिति बैठक नबोलाइएको र निर्वाचन समीक्षा पनि नगरिएकोमा असन्तुष्टि पनि जनाएका छन्। ‘अरू दललाई कहाँ-कहाँ सिट छाड्ने भन्ने निर्णय गर्दा पनि केन्द्रीय समितिमा छलफल गरिएन। चुनाव पछि समीक्षासमेत गरिएन। कार्यसम्पादन समितिबाट कांग्रेसकै नेतृत्वमा अबको सरकार बनाउने भनेर निर्णय गरिएको थियो त्यो नै गल्ती भयो,’ उनले भने, ‘पदाधिकारी र कार्यसम्पादन बसेर गरेको निर्णयले गठबन्धन टुट्ने अवस्थामा पुग्यो। यसबारे अबका दिनमा बहस हुन्छ। पदाधिकारी लगायतले जवाफ दिनुपर्छ।’

अर्का केन्द्रीय सदस्य गोविन्द पोखरेलले प्रधानमन्त्री देउवाको वरिपरि रहेका नेताहरूका कारण अहिलेको अवस्था उत्पन्न भएको बताए।

‘एउटा गिरोहले प्रधानमन्त्रीलाई क्याप्चर गरे। बालुवाटारमा सांसदहरू बोलाएर देउवा नै प्रधानमन्त्री हुनुपर्छ भनेर बालहठ गर्न लगाइयो। यसले गर्दा केन्द्र र प्रदेशका सरकार गुम्ने अवस्था आयो,’ उनले भने, ‘प्रधानमन्त्रीको वरिपरि रहेको सत्ता, शक्ति र राज्यका स्रोत साधनमा रमाउने अराजनीतिक गिरोहले गर्दा देउवामा फेरि पनि प्रधानमन्त्रीको अनावश्यक महत्वकांक्षा बढाइदियो।’

प्रधानमन्त्री वरिपरि रहेकाहरूले पहिले पार्टी र पछि सत्ता कब्जा गर्न खोजेको आरोप उनको छ।

‘गठबन्धन गरेर पार्टीभित्र गुट बलियो बनाउन लाग्ने, राजनीति र आर्थिक शक्ति बलियो बनाउन लाग्ने?,’ उनले भने, ‘त्यो गिरोहले नसुहाउने किसिमले प्रधानमन्त्रीको महत्वकांक्षा सभापति देउवामा बढाइदियो।’

२०७४ सालको चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको थियो भने कूल ६३ जना सांसद थिए।

‘विशेष परिस्थितिमा कांग्रेसलाई अरू दलले सत्ता सुम्पन तयार भएका थिए। अहिले राष्ट्रपति र सभामुख लिएर प्रधानमन्त्री अर्कोलाई छाड्दा केही बिग्रँदैनथ्यो,’ उनले भने, ‘पार्टीका सांसदहरू मन्त्री हुन्थे। प्रदेशमा मुख्यमन्त्री र मन्त्री हुन्थे भने घोषणा पत्रअनुसार काम गर्न कांग्रेसले सक्थ्यो।’

उनले गठबन्धन टुट्न दिने समूह र व्यक्तिबारे समीक्षा गरेर आगामी दिनमा पार्टी रूपान्तरण र जनताका नजिक भएर काम गर्ने अवस्था बनाउनुपर्ने पनि बताए।

कांग्रेसका एक पदाधिकारीले चुनावअघि नै गठबन्धन गर्नु गल्ती भएको बताए। ‘चुनावअघि नै हामीले गठबन्धन गरेर जाने निर्णय गरियो। त्यस्तो संस्कृति नेपालमा थिएन। यसबीचमा कांग्रेसका नेताहरूले सरकार बनाउने प्रयोजनका लागि एमालेसँग पनि छलफल गरिरहे जुन आवश्यक थिएन,’ उनले भने, ‘सभापति देउवाले पनि पार्टीका साथीहरू मान्नुभएको छैन भनेर प्रधानमन्त्री छाड्न मान्नुभएन तर उहाँले पार्टीमा छलफल नै गर्नुभएको थिएन।’

सभापति देउवाले नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र आरजु देउवालगायतलाई आफ्नो पक्षमा माहौल तयार गर्न प्रचण्ड र केही एमालेका नेताहरूसँग छलफल गर्न पठाएको ती पदाधिकारी बताउँछन्। तर देउवाले पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई सरकार गठन सम्बन्धीका छलफलको सुइँकोसमेत दिएका थिएनन्।

‘सभापति देउवाले प्रधानमन्त्री छाड्न पार्टीका साथीहरूले मानेनन् भनेर लगातार प्रचण्डलाई भनिरहनुभयो तर देउवाले सांसदहरूसँग छलफल गर्नुभयो? गर्नुभएन,’ ती पदाधिकारीले भने, ‘पार्टीले नमानेको भनेर उहाँले कसलाई भन्न खोजेको हो? पदाधिकारी बैठक बोलाइएन। सांसदहरूसँग छलफल गरिएन, राय लिइएन।’

देउवाका वरिपरि रहेका अधिकांश नेता प्रचण्ड प्रधानमन्त्री बनुन् भन्नेमा थिए। तर उनीहरूले यसबारे देउवालाई भने जानकारी नै गराएका थिएनन्।

‘प्रचण्डसँग भेट गर्दा देउवाकै वरिपरिका नेताहरू गठबन्धन जोगाउन प्रचण्ड प्रधानमन्त्री हुनुपर्दछ भन्थे। तर त्यो कुरा देउवाका अघि राख्न सक्दैनथे किनकी उपप्रधानलगायत मन्त्री देउवाले दिँदैनन् कि भन्ने डर उनीहरूमा थियो,’ ती नेताले भने, ‘संसदीय दल वा पार्टी पदाधिकारी बैठक बोलाएको भए त्यहाँ देउवालाई यस्ता कुराहरू सुनाउन सकिन्थ्यो त्यस्ता बैठक नै बसेनन्।’

शनिबार केन्द्रीय सदस्य आरजु राणा देउवाले बालुवाटारमा सांसदहरूलाई बोलाएकी थिइन्। उनले सांसद चन्‍दा चौधरीमार्फत् केही सांसदलाई बालुवाटार बोलाएकी थिइन्।

‘सांसदहरूलाई संसदीय दल वा पार्टीले बालुवाटार बोलाएको थिएन। केन्द्रीय सदस्य आरजुले सांसद भेला गर्नुभएको थियो,’ ती नेता भन्छन्, ‘बालुवाटारमा त्यसदिन भेला भएका सांसदहरूले देउवाले प्रधानमन्त्री छाड्न हुन्न भनेछन्। त्यही कुरालाई देउवाले साथीहरू मानेका छैनन् भनेर प्रचण्डलाई सुनाएका हुन्।’

ती पदाधिकारीका अनुसार गठबन्धन जोगाउन नेतृत्व इमान्दार नहुँदा र लोभ गर्दा सत्ता हातबाट फुत्केको हो। यसबारे केन्द्रीय समिति लगायतमा अब छलफल गरिने ती नेताले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित