७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

भोलि रातिदेखि रातको समयमा आँबुखैरहनी–पोखरा सडक बन्द हुने

बुधबारबाट राति १२ बजेदेखि बिहान ४ बजेसम्म पृथ्वी राजमार्गको आँबुखैरहनी–पोखरा खण्ड बन्द हुने भएको छ।

सडक बिस्तारका क्रममा भित्ता कटिङ गर्नुपर्ने भएकाले अर्को सूचना नभएसम्मका लागि रातिको समयमा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले जानकारी दिए।

तीन वर्षमा काम सक्नेगरी सम्झौता भए पनि यो सडक खण्डमा कामको गति असाध्यै सुस्त हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन्।  ट्राफिक जामको समस्या झेलिरहेका छन्।

अहिले सडक विस्तारका लागि भित्ता काट्ने, रिटेनिङ वाल बनाउने, नाली, कल्भर्ट बनाउने कामहरू भइरहेका छन्। 

सम्झौताअनुसार काम भए पृथ्वी राजमार्गको तनहुँमा पर्ने आँबुखैरहनी–जामुने (पहिलो खण्ड) खण्डको काम २०८१ सालको वैशाखभित्रमा सकिनुपर्छ।

तनहुँको जामुनेदेखि कास्कीको पोखरा(दोस्रो खण्ड)सम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ। आधाभन्दा बढी अवधि गुज्रिसक्दा आँबुखैरहनी–जामुने खण्डको काममा १५.५ र जामुने–पोखरा खण्डको काममा ४.१ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ।

 

एसियाली विकास बैंकको ऋण सहयोगमा राजमार्ग विस्तारको काम चलिरहेको हो। ८० किलोमिटर सडकखण्डलाई दुई भागमा बाँडेर आँबुखैरहनी–पोखरा सडक विस्तार थालिएको हो। यसको अहिलेसम्मको समग्र भौतिक प्रगति करिब १० प्रतिशत छ।

आँबुखैरहनी–जामुने खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले र जामुने–पोखरा खण्डको ठेक्का चाइनाकै अन्हुई काइयुनले पाएका छन्। पहिलो खण्डका लागि ६ अर्ब २१ करोड र दोस्रो खण्डका लागि ७ अर्ब ४० करोड रुपैयाँमा सम्झौता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित