६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

माओवादीलाई अपराधी बनाएर व्याख्या गर्ने कुरा सह्य नहुने । बिप्लब

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन्।

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्रीविरुद्ध मुद्दा दर्ता हुँदासमेत प्रधानमन्त्री दाहालकै पार्टीले केही नबोल्नु दुःखको कुरा भएको बताए। उनले मुद्दा दर्ता भइसक्दासमेत प्रधानमन्त्री दाहालको पार्टीले कुनै आवाज नउठाएकाले उनको पार्टी कता गयो? भन्दै प्रश्न गरे।

उनले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिए। उनले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गरे। उनले माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने चेतावनी दिए।

उनले भने, ‘हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्ग जस्तो, उदास जस्तो, जसले गर्व गरेर यो देशमा हास्नुपर्ने हो त्यो उदास जस्तो, निराश जस्तो, जो मानिसहरुले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्न्पर्ने जस्तो के हो यो देशमा ? जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधी जस्तो, मलाई शहीदका छोराहरुले पनि भन्नुभयो, हामी अपराधी हो ? राज्यले के गरिरहेको छ। सम्मानित हुनुपर्ने मान्छे अपराधी जस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउने जस्तो, इतिहास यसरी उल्टियो। आज यो सारा माओवादीले बिगार्यो, भत्कायो, अपराधीहरु, लुटेराहरु, भाषणैपिच्छे। माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ। को हो हत्यारा नेपालमा ? २ सर्य वर्षसम्म जनतालाई चुसेर अर्बौं सम्पती थुपार्ने सामन्तहरु अपराधी हुन्। हामी अपराधी होइनौँ जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, सह्य हुँदैन। यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन। माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित