७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

गोरखाको पालुङटारलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने

गोरखा । गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने भएको छ । पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा आज काठमाडौँमा आयोजित कार्यक्रममा केन्द्र र प्रदेश सरकारको सहकार्यमा पालुङटारको अवण्डादेखि बगरसम्मको क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रको रुपमा विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको हो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जनताको चाहना र आवश्यकतालाई समावेश गरेर आगामी आवको बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले पालुङटारमा सञ्चालन गरिने ठूला विकासका आयोजनालाई केन्द्रीय सरकारको सहयोग हुने बताए । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गरे ।

नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले पालुङटार नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटनको विकास गर्नुपर्ने बताए । उनले नगरपालिकाभित्र भूवर्गीकरण वैज्ञानिक ढङ्गले गर्नुपर्नेमा जोड दिए । विपद् व्यवस्थापन विज्ञ डा. कृष्णचन्द्र देवकोटाले पालुङटारभित्रको भू–वर्गीकरण गर्दा विपद्को बाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डेले नगरपालिकाले निश्चित समयमा नीति तथा कार्यक्रम निर्माण गर्ने, बजेट बनाउने र कार्यान्वयन गर्ने बताए । उनीहरुले पालुङटारको विकासमा केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले चालु आवमा पालुङटार नगरपालिकाले ८० प्रतिशतभन्दा बढी वजेट खर्च गरिसकेको बताए । रासस 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित