गरिबीले छेकेन सपना क्रीकेट मा भर्खरै उदाएका अर्जुन कुमाल

एक महिनाअघि आयोजना गरिएको आइसिसी यू–१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरेर गुल्मीका अर्जुन कुमालले विश्वभर चर्चा बटुले । गुल्मी छत्रकोट–५ खज्र्याङका उनी बुबा मेघबहादुर कुमालसँग भारतमा हुर्किए ।अहिले ४२ वर्ष पुगेका मेघबहादुरले गाउँ छाड्दा उनी १३ वर्षका थिए । मेघबहादुरका बुबा टोपबहादुर कुमाल दमका रोगी थिए । आम्दानीको गतिलो स्रोत थिएन ।
रोगजारीको अरू उपाय पनि थिएन । गाउँमा महिलाहरू मेलापात र पुरुषहरू भारी बोक्थे । गाउँ छोडेर परदेश पस्नेहरूकै भिडमा मेघबहादुर पनि भारत पसे । गरिबीले परदेश घचेटेपछि मेघबहादुरले दुई कक्षाभन्दा माथि पढ्न पाएनन् । बाबा–आमाको सपना र खुसी खोज्न गाउँ छोडेका मेघबहादुरले २६ वर्ष भारतमा बिताए ।
मेघबहादुरको घर अहिले जीर्ण बन्दै गएको छ । दुःखले घेरेको मेघबहादुरको अनुहारमा अहिले केही खुसी देखिन थालेको छ । छोरा अर्जुनले क्रिकेटमा राम्रो प्रगति गरेपछि मेघबहादुर सम्मान लिन अहिले गाउँ आएका छन् । अर्जुनले गरिबीका कारण सानैमा भारतका गल्लीमा थुप्रै संघर्ष गरे । अहिले पनि उनी भारतको चस्मा फ्याक्ट्रीमा काम गर्छन् । ‘गाउँमा बूढीआमा मात्रै हुनुहुन्छ । भारतमा छोराकै लागि मजदुरी गरिरहेको छु,’ मेघबहादुर भन्छन्, ‘मैले आमाको दुःख घटाउन अझै सकिनँ । छोराले परिवार र देशका लागि राम्रो काम गर्न सकोस् ।’
विपन्न परिवारमा जन्मिएका अर्जुन कुमाल क्रिकेटमा नयाँ पुस्ताका आसलाग्दा खेलाडी हुन्
खज्र्याङमा करिब एक सय धुरी कुमाल छन् । निर्वाचनका वेला खज्र्याङका कुमाल समुदायको भोट महत्वपूर्ण मानिन्छ । तर, अहिलेसम्म यहाँका कुमालहरूको भोट नेताहरूलाई सत्तामा पुर्याउने भर्याङ मात्रै बनिरहेको छ । कुमाल परिवारको जीविकोपार्जनको स्तर उकास्न राज्यले उल्लेखनीय काम गरेको देखिन्न ।
भारतमै हुर्किएका मेघबहादुर क्रिकेटमा खुब रुचि राख्थे । उनलाई क्रिकेट खेल्न मन लाग्थ्यो । तर, दर्शकमै सीमित हुन्थे । अर्जुन हुर्किँदै गए र उनको रुचि पनि क्रिकेटमै देखियो । त्यसपछि मेघबहादुरले सोच्न थाले, ‘मेरो अधुरो सपना छोराले पूरा गरोस् ।’ मेघबहादुरले फुर्सद हुनेबित्तिकै छोरालाई पार्कहरूमा लगेर क्रिकेट खेलाउन थाले । अर्जुनले पनि मिहिनेत गरे ।
स्कुल र स–साना प्रतियोगितामा अर्जुनले उत्कृष्ट प्रदर्शन गर्न थाले । उत्कृष्ट खेलेबापत अर्जुनले भारतमा १० लाखसम्मको छात्रवृत्ति अफरसमेत पाए । तर, मेघबहादुर चाहन्थे–छात्रवृत्ति पाएर छोरा भारतमै नहराओस् । अर्जुन पनि बुबाले सोचेजस्तै स्वदेशमै क्रिकेट खेल्न चाहन्थे । त्यसपछि अर्जुनले निरन्तर अभ्यास गरिरहे । ‘मैले सुविधाभन्दा मातृभूमि सम्झिएँ । छोराले पनि नेपालमै खेल्ने इच्छा देखायो,’ उनले भने, ‘अहिलेसम्म खेलमा नराम्रो भएको छैन ।’
अर्जुन सन् २०१९ मा १३ वर्षको उमेरमा थाइल्यान्डमा आयोजित यू–१६ क्रिकेटमा नेपालको तर्फबाट पहिलोपटक सहभागी भए । त्यसपछि काठमाडाैंमा प्रधानमन्त्री कप खेले । सो खेलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण क्याम्पमा सहभागी भएर तालिम गर्ने अवसर पाए । सन्दीप लामिछानेको कप्तानीमा काठमाडाैं मेयरकप, इपिएल, यू–१९ एसियाकप, युएई आइसिसी यू–१९ पुरुष विश्वकप छनोट प्रतियोगिताहरू खेले ।
उत्कृष्ट खेलेबापत अर्जुनले भारतमा १० लाखसम्मको छात्रवृत्ति अफरसमेत पाए । तर, मेघबहादुर चाहन्थे– छात्रवृत्ति पाएर छोरा भारतमै नहराओस् । अर्जुन पनि बुबाले सोचेजस्तै स्वदेशमै क्रिकेट खेल्न चाहन्थे । त्यसपछि अर्जुनले निरन्तर अभ्यास गरिरहे ।
अर्जुन अहिले कक्षा ११ मा अध्ययन गरिरहेका छन् । खेलका कारण पढाइ नियमित हुन नसकेको उनी बताउँछन् । त्यसमाथि खेल शुल्क, तालिम शुल्क, यातायात तथा खाना खर्च परिवारले व्यहोर्नुपर्छ । ‘नेपाल आउ–जाउ गर्दा र विभिन्न शुल्क जोड्दा वर्षमा डेढदेखि दुई लाखसम्म खर्च हुन्छ । बाबाको कमाइले मात्रै पुग्दैन,’ अर्जुनले भने, ‘सुविधाभन्दा मातृभूमि सम्झिएर खेलिरहेको छु ।’ गाउँ–गाउँमा राम्रो संरचना र प्रशिक्षक भए नेपालले क्रिकेटमा धेरै राम्रो गर्न सक्ने अर्जुन बताउँछन् । अर्जुनलाई यो अवस्थासम्म ल्याउन परिवारसँगै भारतीय प्रशिक्षक प्रदीप कोचर, नवलपरासीका राहुल शर्मा र पोखराका जिम्मी गुरुङ र रिजन पराजुलीको ठूलो देन रहेको उनी बताउँछन् ।
छत्रकोट गाउँपालिकाले अर्जुनलाई सम्मान गरेको छ । गाउँपालिकाले आइसिसी यू–१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अर्जुनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयसहितको टोलीले अर्जुनलाई नगदसहित सम्मान गरेको हो । पालिका प्रमुख पाण्डेयले अर्जुनको अध्ययन तथा खेलक्षेत्रको विकास र घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
5%

8%

11%

3%

7%

प्रतिक्रिया दिनुहोस्