६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

एघारौँ लिगलिगे दौडको उपाधी नेपाली सेनाका राईलाई

गोरखा, १ कात्तिक ।  एघारौँ लिगलिगे दौड प्रतियोगिता ‘२०८०’ को उपाधि नेपाली सेनाका गजेन्द्र राईले जित्नु भएको छ । निर्धारित १३ दशमलव ८ किलोमिटर दूरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो । उपाधि जितेसंगै राई यसबर्षका लागि लिगलिगे राजा घोषित हुनभएको छ ।

प्रतियोगितामा निर्धारित दुरी ५६ मिनेट ५३ सेकेन्डमा पार गर्दै नेपाली सेनाका नरेन्द्रसिंह रावत दोस्रो हुनुभएको छ । भारतीय सेनामा कार्यरत अनिष थापामगर प्रतियोगितामा यसपटक तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दुरी ५८ मिनेट ३५ सेकेन्डमा पुरा गरेर तेस्रो हुन सफल हुनुभएको हो ।

गोरखा र लम्जुङको सिमानामा पर्ने मस्र्याङदी नदीको दोभानमा रहेको चेपेघाटबाट सुरु भएको दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङिगएको थियो ।

प्रतियोगितामा उपाधि बिजेता राईले एक लाख रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रो हुनुभएका रावतले ५० हजार रुपैया सहित मेडल र प्रमाणपत्र, तेस्रो हुने सफल थापामगरले २५ हजार रुपैया सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष सञ्जिव रानाले जानकारी दिनुभयो ।

नेपाल एकीकरणअघिका बाइसे चौबीसे राज्यमध्ये एक लिगलिग कोटमा दौडेर पहिलो हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । तत्कालिन समयमा दौडर राजा हुने परम्परालाई जोगाई राख्न पछिल्लो समय दौड प्रतियोगिता गर्ने गरिएको छ । लिगलिगमा आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताले टेवा पुगेको आयोजकले जनाएको छ ।

वि.सं १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः बि.स २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । राजा द्रव्य शाहले दौडमा बिजय हासिलगरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित