६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

धादिङ भूकम्प अपडेट : १२ घरमा क्षति, एक ठाउँमा ठूलो पहिरो

काठमाण्डाै – धादिङमा भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु र आसपासका क्षेत्रका केही घरमा क्षति पुगेको छ ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैका अनुसार भूकम्पका कारण दुई वटा घरमा पूर्ण क्षति पुगेको छ भने १० वटा घरमा आंशिक क्षति भएको छ ।

‘अहिलेसम्म १२ वटा घरमा क्षति भएको विवरण आएको छ, थप क्षति भए/नभएको बारे हामी अनुगमन गर्दैछौँ’, उहाँले उज्यालोसँग भन्नुभयो ।

उहाँका अनुसार भूकम्पपछि वडा नम्बर ५ को एक ठाउँमा ठूलो पहिरोसमेत गएको छ । भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको हो ।

वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले भूकम्पपछि लगातारजसो परकम्प आइरहेकाले सचेत हुन आग्रह गर्नुभएको छ । बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो । भूकम्प गएको क्षेत्र गोरखासँग सीमा जोडिएको क्षेत्र हो । यसअघि गएको असोज महिना बझाङ केन्द्रबिन्दु बनाएर पटक पटक भूकम्प गएको थियो ।  

असोज १६ गते  ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएपछि बझाङमा पनि  लगातारजसो साना र मध्यम भूकम्प तथा परकम्प गइरहेको छ ।  नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिममा रहेको विज्ञले बताउँदै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित