६ मंसिर २०८१, बिहीबार । Nov 21, 2024

निर्मला हत्याको ६ वर्ष : दुई जना शङ्कास्पदको नजिक पुग्यो प्रहरी

काठमाडौँ । निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ । तर, अनुसन्धान अधिकृतहरूले अहिलेसम्म नतिजा हात पार्न सकेका छैनन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला २०७५ साउन १० मा मृत फेला परेकी थिइन् । बलात्कारपछि उनको हत्या भएको अनुसन्धान निष्कर्ष छ ।

२०८१ असार ३० मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भनेका थिए–‘निर्मला पन्तको हत्यारा नजिक पुगेका छौँ ।’

अनुसन्धानमा संलग्न अधिकृतहरूले लामिछानेको दाबी ठिक रहेको बताएका छन् ।

कञ्चनपुर घर भएका तर, विदेशमा बस्ने दुई जनालाई शङ्काको घेरामा राखेर अनुसन्धान गरिरहेको प्रहरी स्रोतको भनाइ छ ।

निर्मला हत्या अनुसन्धानमा लामो सयमदेखि काम गरिरहेका एक जना अधिकृतले रातोपाटीसँग भने, ‘दुई जना शङ्कास्पदको नजिक पुगेका छौँ, पहिचान भए पनि उनीहरू अहिले विदेशमा छन् ।’

शंकास्पदहरूलाई ल्याएर डीएनए जाँच गर्ने प्रहरीको तयारी छ । ६ वर्षमा प्रहरीले हालसम्म १२३ जनाको डीएनए जाँच गरेको छ । कञ्चनपुरका एसपी चक्रराज जोशी भन्छन्, ‘अध्ययन, अनुसन्धान र विश्लेषणको काम भइरहेको छ ।’

पछिल्लो ४ महिनामा प्रहरीले एक जना शङ्कास्पदलाई पक्राउ गरेर घटना विवरण कागज गराएको छ ।

कञ्चनपुर प्रहरी र सीआईबीले घटनाबारे अनुसन्धान गरिरहेका छन् । लामो समय कञ्चनपुरमा बस्दा नतिजा नआएपछि सीआईबीको टोलीले अहिले काठमाडौँबाटै अनुसन्धान गरिरहेको छ । सीआईबीका इन्स्पेक्टर दुर्गा योन्जनले कञ्चनपुरमा बसेर लामो समय काम गरेका थिए ।

कञ्चनपुर प्रहरीलाई आवश्यक पर्ने प्राविधिक सपोर्ट र थप अनुसन्धान भइरहेको सीआईबीका एआईजी श्याम ज्ञवालीले बताए । उनले भने, ‘हामी जिल्ला प्रहरीलाई आवश्यक सहयोग गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित