७ आश्विन २०८१, सोमबार । Sep 23, 2024

नेपालले पीएनजीलाई ५२ रनले हरायाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएकाे छ ।

नेपालले दिएकाे २ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी ४७ ओभर १ बलमा २ सय ४५ रन बनाउँदा अलआउट भयाे । पीएनजीका लागि नाेरमान भानुवाले ६०, टाेनी उराले ५०, आसाद भालाले ४२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ ओभर १ बलमा २ सय ९७ रनमा अलआउट भयो । याे नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएकाे  अहिलेसम्मकै उच्च स्कोर हाे । नेपालका लागि आसिफ शेखले १ सय १० रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो । यस्तै कुशल भुर्तेल ४५, भीम सार्की ४४ तथा कप्तान रोहित पौडेल ३० रन बनाए । बलिङतर्फ पीएनजीका सेमाे कमियाले ५ र रिले हिकुरेले ३ विकेट लिए ।

याे जितसँगै नेपालले साेझै विश्व कप छनाेट खेल्ने सम्भावना कायमै राखेकाे छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ । त्यस्तै एकदिवसीय मान्यता कायम राख्न अब १ खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यस शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पीएनजी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलाकाे अर्काे खेलमा नेपालले आइतवार यूएईसँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल ३३ खेलमा ३४ अङ्कसहित पाँचाैँ स्थानमा छ । पीएनजी उति नै खेलमा ९ अङ्कसहित तालिकाकाे पुछारमा छ । यूएई ३२ खेलमा ३१ अङ्कसहित छैटाैँ स्थानमा छ । लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् । स्कटल्यान्ड ५० अङ्कका साथ विजेता बन्दै र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका छन् । बाँकी एक स्थानका लागि नेपालसहित नामिबिया र यूएई प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित