६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

नेपाली क्रिकेटको भविष्यका रूपमा हेरिएका अर्जुन कुमाल

काठमाडौं । नेपालको अन्डर नाइन्टीन क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहँदा सबैको नजर अर्जुन कुमालमाथि हुन्छ । १८ वर्षीय अर्जुनको ब्याटिङ शैलीले जो कोहीलाई मोहित पार्छ । 

यो वर्ष नेपालले एसीसी मेन्स अन्डर नाइन्टीन प्रिमियर कपको उपाधि जित्दा र विश्वकपमा छनोट हुँदा उनको प्रदर्शन महत्त्वपूर्ण रह्यो । दुवै प्रतियोगितामा अर्जुनले शतक प्रहार गरेका थिए । नेपाली टिमले मङ्सिर २२ गते सुरु हुने एसिया कपमा पनि अर्जुनबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ । आफ्नो भूमिकामा स्पष्ट रहेका अर्जुनले पनि प्रतियोगितालाई अवसरका रूपमा लिएका छन् । 

अर्जुन, तीन वर्षअघि भएको प्रधानमन्त्री कपबाट उदाएका खेलाडी हुन् । गण्डकी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्ने उनी अन्डर सिक्सटीन हुँदै अन्डर नाइन्टीन टिममा आए । नेपाल आठ वर्षपछि विश्वकपमा फर्किँदा अर्जुनको प्रदर्शन तारिफ योग्य रह्यो । 

उनले कुबेतसँग १ सय ८ र प्रिमियर कपमा साउदी अरेबियाविरुद्ध १ सय ४२ रनको इनिङ्स खेलेका थिए । प्राविधिक रूपमा अब्बल मानिने अर्जुन एसिया कपका लागि उत्साहित छन् । 

एसिया कपमा नेपालको समूहमा टेस्ट टोली भारत, पाकिस्तान र अफगानिस्तान छन् । अघिल्लो पटकको एसिया कपमा खासै मौका नपाएका अर्जुनका लागि ठूला टिमविरुद्ध आफ्नो क्षमता देखाउने सुनौलो अवसर छ । 

अर्जुनलाई नेपाली क्रिकेटको भविष्यको रूपमा हेरिन्छ । उनले प्रहार गर्ने सटले पुर्वकप्तान पारस खड्काको झल्को पनि दिन्छ । त्यसैले धेरैले अर्जुनलाई पारससँग तुलना पनि गर्छन् । प्रशिक्षक जगत् टमाटा अर्जुनले केही वर्षमै राष्ट्रिय टिममा स्थान बनाउने सम्भावना उच्च देख्छन् । अर्जुनले भने अन्डर नाइन्टीनमानै आफ्नो ध्यान केन्द्रित गरिरहेका छन् ।

भारतमा क्रिकेट सिकेका अर्जुन नेपालमा खेल नहुँदा अहिले पनि अभ्यासका लागि भारत जान्छन् । यसले आफूलाई भारतविरुद्ध खेल्न केही हदसम्म सहयोग पुग्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित