६ आश्विन २०८१, आईतवार । Sep 22, 2024

Untitled

स्वास्थ्य कार्यालय गोरखाका अनुसार बिहिबारसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को हालसम्म गोरखामा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार काठमाडौँ उपत्यका सहित देशभर डेंगु संक्रमण बढेसँगै गोरखामा पनि यसको प्रभाव र असर बढेको देखिन थालेको हो ।
यसबाट एकजनाको मृत्यू भएको पुष्टि भइसकेको छ ।

गोरखामा सबै भन्दा धेरै गोरखा नगरपालिकामा ४१ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका नारायणबाबु अर्यालले बताए । पालुङटार नगरपालिकामा चार जना, भिमसेन थापा गाउँपालिकामा एक जना, गण्डकी गाउँपालिकामा एक जना, आरुघाट गाउँपालिकामा ११ जनामा डेंगु संक्रमण पुष्टि भएको उनले जानकारी दिए । जिल्लाका शहिदलखन, अजिरकोट, बारपाकसुलिकोट र सिरानचोक, धार्चे र चुमनुब्री गाउँपालिकामा भने डेंगु संक्रमण देखिएको छैन । पालिकामा पर्याप्त परिक्षण गर्ने मेसिन र किट नभएको पनि डेंगु संक्रमण विरामीहरु विवरण आइनसकेको उनको भनाइ छ । त्यस्तै गोरखा नगरपालिका भित्र पनि प्राइभेट स्वास्थ्य संस्थामा परिक्षण गरेको डेंगुका विरामीहरुको विवरण आइनसकेको पनि उनले बताए ।

समयमै यसबाट बच्न सावधानका उपायहरु नअपनाए डेंगु संक्रमणको दर अभै बढ्न सक्ने उनले बताए । डेंगु संक्रमणको दर बढेसँगै स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका सबै सरोकारवाला नियकायहरुलाई घर भित्र र बाहिर लामखुट्टेको बासस्थान तथा फुल पार्ने ठाउँहरु ‘खोजौँ र नष्ट गरौँ’ अभियान संचालन गरी डेंगु नियन्त्रणमा सहयोग गर्न समेत अपिल गरेको छ ।

हाल बढ्दै गएको डेंगु रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण वडा, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, सहकारी, वैकिङ क्षेत्र, टोल सुधार समिति, आमासमूह, युवा क्लव लगायतका सबै सरोकारवाला निकायलाई अभियान संचालन गर्न अनुरोध गरिएको छ ।
सोहि अभियान अनुरुप डेंगु रोग नियन्त्रणका लागि गोरखा नगरपालिकाले पनि भदौ ३१ गतेदेखि असोज ६ गतेसम्म पालिका भित्रका वडा, स्वास्थ्य संस्था, विद्याल र टोल विकास संस्थाहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । विहिबार सूचना जारी गर्दै डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको वृद्धि तथा विकास सफा र स्थित पानीमा हुने भएकाले आफ्नो घर, विद्यालय, कार्यालय र टोल वरपर लामखुट्टेको फुल पार्न सक्ने सम्भावित स्थानहरु सरसफाई गर्न अनुरोध गरिएको छ ।

त्यस्तै सबै पालिकामा संचालनमा रहेको सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, निजी अस्पताल तथा मेडिकलहरुमा डेंगुको परीक्षण भई संक्रमण भएको पुष्टि भएमा विरामीको विवरण दैनिक रुपमा स्वास्थ्य कार्यालयलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार डेंगु लागेका १ सयमध्ये २० देखि २५ जनामा मात्रै लक्षण देखिन सक्छ । तर, डेंगु संक्रमण हुनेहरू अरूलाई सार्न सक्रिय हुन्छन । डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जीउ तथा हात दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने आदि डेंगुका लक्षण हुन । लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने डाक्टरहरु बताउँछन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

5%

images खुसी

8%

images दुःखी

11%

images अचम्मित

3%

images उत्साहित

7%

images आक्रोशित